
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार अकस्मात् आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ।
सिबिफिनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ।
बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।
प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत विभिन्न व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ।
सिबिफिनले विपद्को समयमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको जनाएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्न आवश्यक प्रबन्ध गरिरहेको जनाएको छ।
वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनले जनाएको छ। त्यस्तै, व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन सदस्य बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यसका साथै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्रका लागि आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न सिबिफिन प्रयासरत रहने जनाएको छ।
राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग हातेमालो गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार रहेको स्पष्ट पारेको छ।
प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले अघि बढाएका राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा साथ दिन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकताबद्ध भएर परिचालित हुन अपीलसमेत गरेको छ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै