
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले बेपत्ता नागरिक तथा व्यवसायीहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
थप जनधनको क्षति हुन नदिन सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी तथा तीव्र बनाउन महासंघले आग्रह गरेको छ । त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रमा जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, जोखिमपूर्ण क्षेत्रमा आवागमन नियन्त्रण गर्न तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसमेत महासंघले अनुरोध गरेको छ ।
महासंघले मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न अपिल गरेको छ । सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित रूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गर्न महासंघले आग्रह गरेको छ । विपद्को समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्नुपर्ने महासंघको भनाइ छ ।
त्यस्तै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउन तथा यथोचित र स्थिर मूल्य कायम राख्न महासंघले उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ । महासंघले आफू प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा दृढतापूर्वक उभिएको जनाएको छ । उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको अध्यक्ष अञ्जन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउँदै संयमित, सुरक्षित र एकताबद्ध भएर विपद्को सामना गर्न तथा कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै