
काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित शेर्पा समुदायका लागि नेपाल शेर्पा संघले आपत्कालीन राहत संकलन अभियान सुरु गरेको छ । संघको कार्यालयमा शुक्रबार आयोजित बृहत् भेलामार्फत प्रारम्भिक चरणमै करिब १२ लाख रुपैयाँ राहत रकम संकलन भएको हो ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएका साथै केही शेर्पा परिवार विस्थापित तथा प्रभावित भएका छन् । प्रभावितको तत्कालीन आवश्यकता सम्बोधन गर्न संघले आपत्कालीन राहत कोष स्थापना गरी सहयोग संकलन गरेको र पहिलो चरणमा करीब ११ लाख ७० हजार रुपैयाँ संकलन भएको अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले जानकारी दिए ।
राहत कोषमा संघका सल्लाहकार, निवर्तमान अध्यक्ष, वर्तमान पदाधिकारी तथा विभिन्न किदुग -शेर्पा समुदायका सामाजिक संस्था) ले सहयोग रकम जम्मा गरेका छन । भेलामा सहभागी विभिन्न व्यक्ति तथा संस्थाले आ–आफ्नो क्षमताअनुसार राहत रकम उपलब्ध गराएको सामाजिक सेवा विभाग प्रमुख सञ्जय शेर्पाले जानकारी दिए।

संघले संकलित रकमलाई प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा परिचालन गर्ने जनाएको छ । विशेषगरी बाढीबाट घरबार गुमाएका, विस्थापित भएका तथा तत्काल खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य उपचार र आवासीय सहयोग आवश्यक परेका परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गर्ने तयारी गरिएको कोषाध्यक्ष आङदोर्जे शेर्पाको भनाइ छ ।

वेपत्ता शेर्पाको तथ्याङ्क संकलन
यसैबीच, बाढी तथा पहिरोपछि रसुवा क्षेत्रमा वेपत्ता भएका शेर्पाहरूको तथ्याङ्क संकलनलाई पनि संघले प्राथमिकतामा राखेको छ । प्रभावित क्षेत्रबाट प्राप्त विवरणलाई स्थानीय तह, सम्बन्धित परिवार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी यकिन गर्ने प्रक्रिया अघि बढाइने संघले जनाएको छ।
वेपत्ता तथा प्रभावितको वास्तविक अवस्था पहिचान भएपछि राहत वितरणलाई थप व्यवस्थित बनाउने संघको तयारी छ । संघले प्रभावित परिवार तथा स्थानीय प्रतिनिधिलाई वेपत्ता, घाइते, विस्थापित र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
आवश्यकताका आधारमा राहत वितरण
संघले राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन प्रभावितको वास्तविक आवश्यकताको पहिचान गरी चरणबद्ध रूपमा सहयोग पु¥याउने गरी कार्यविधिलाई संशोधन गर्ने महासचिव लाक्पा जी शेर्पाले जानकारी दिए। तत्काल उद्धार तथा जीवनरक्षासँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिँदै त्यसपछि खाद्यान्न, स्वास्थ्य, आवास तथा पुनःस्थापनाका क्षेत्रमा सहयोग विस्तार गर्ने योजना रहेको महासचिव शेर्पाले जनाएका छन्।

संघका अनुसार प्रारम्भिक राहत संकलन अभियानलाई थप विस्तार गरिनेछ । देश तथा विदेशमा रहेका शेर्पा समुदाय, किदुग, सामाजिक संघसंस्था तथा शुभेच्छुकलाई आपत्कालीन राहत कोषमा सहयोग गर्न आह्वानसमेत गरिएको बरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाको भनाइ छ । रसुवा बाढीबाट प्रभावितको वास्तविक क्षति तथा आवश्यकताको विस्तृत विवरण संकलन भएपछि राहत परिचालनलाई थप व्यवस्थित बनाइने र संकलित मध्ये केही रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने संघको तयारी छ । संघले उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय समुदायसँग सहकार्य गर्ने जनाएको छ । त्यस्तै, वेपत्ताको खोजीका लागि सरकारलाई माग गर्ने, शव पहिचान र सामुहिक पुजापाठ लगायत कार्यहरु अघि बढाउने जानइको छ ।









समाचार
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
अकल्पनीय बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन