
काठमाडौं । सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ । विभागका महानिर्देशक डा. विजय जैसीले आईतवार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् । महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको बताए ।
उनले भने, ‘रसुवाको बाढीपछि सिर्जित समस्याले यहाँको सुरक्षा पर्खाल (वाल) भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार (क्र्याक) हरु देखिएका छन् । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ । विश्व बैंकको ठेक्का अन्तर्गतका निर्माण व्यवसायी र उपकरणहरू परिचालन गरिएको छ । रात्रिकालीन समयमा पनि फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै काम भइरहेको छ । प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भएपनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ ।’
कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनकाअनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।
उनले भने, ‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसावले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ ।’ त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिव २९ वटा पुलहरूको मर्मत सम्भार र पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको छ ।
धादिङको फुर्केखोला पुलको विषयमा जानकारी दिँदै उनले भने, ‘त्यहाँको ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ । चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ ।’
सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिवद्धता व्यक्त गरे । देशभरका करिव १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्न चुनौती भएपनि स्रोत र साधनले भ्याएसम्म विभाग २४ सै घण्टा खटिएको डा. जैसीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ । सडक विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सडक सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।













समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब
जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार
महासंघका अध्यक्ष श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री मिजियावा बीच भेटवार्ता
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
बाढी प्रभावित व्यवसायीलाई निजी क्षेत्र एक्लो हुन दिँदैन : पूर्वअध्यक्ष ढकाल
नेपालको अपराजित यात्रामा पूर्णविराम, हङकङसँग १५ रनले पराजित
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की