१५ बैंक शाखाका ७८ हजारभन्दा बढी बचतकर्ता प्रभावित,एनआईएमबीका ग्राहक सबैभन्दा धेरै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका विभिन्न १५ बैंक शाखाहरूमा कुल ७८ हजार २०४ जना ग्राहकका निक्षेप खाताहरू जोडिएका छन्। बैंकगत विवरण अनुसार सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरू प्रभावित बनेका छन्, जसका स्याफ्रूबेँसी शाखामा १३ हजार ६५२ जनाको  ५९ करोड ३९ लाख ९६ हजार ८४० रुपैयाँ र टिमुरे शाखामा ६ हजार ४३० जनाको २७ करोड २५ लाख १३ हजार ८२२ रुपेयाँ  गरी कुल २० हजार ८२ जना खाताधारकको ८६ करोड ६५ लाख १० हजार ६६२ रुपैयाँ निक्षेप जोखिममा परेको छ। त्यस्तै, एकल शाखाको हिसाबले सबैभन्दा धेरै ग्राहक प्रभावित भएको हिमालयन बैंकको बेत्रावती शाखामा मात्रै १४ हजार ४४२ जनाको खाता रहेको छ, जहाँ ७६ करोड ६५ लाख ६९ हजार ७१ रुपैयाँ निक्षेप रहेको छ।

यसै गरी, एनआईसी एशिया बैंकका तीन शाखाहरू बेत्रावतीमा ५,७८१ जनाको  २५ करोड ६० लाख ८ हजार २७९ रुपैयाँ , स्याफ्रूबेँसीमा ५,३२२ जनाको  २८ करोड ९९ लाख ८ हजार ९२ रुपैयाँ  र त्रिशुलीमा २,२६८ जनाको १३ करोड २७ लाख २२ हजार ५३८ रुपैयाँ गरी कुल १३ हजार ३७१ जना बचतकर्ताहरूको ६७ करोड ८६ लाख ३८ हजार ९०९ रुपैयाँ निक्षेप जोडिएको छ।

कृषि विकास बैंकको त्रिशुली शाखामा ९ हजार १३६ जना ग्राहकको  ५९ करोड ५२ लाख ४० हजार ८८२ रुपैयाँ र सिटीजिन्स बैंकको देवीघाट शाखामा ५ हजार १४ जना ग्राहकका खातामा  ३८ करोड ३९ लाख १५ हजार ९१५ रुपैयाँ  निक्षेप रहेको छ। प्रभु बैंकका दुई शाखा स्याफ्रूबेँसीमा ४,२८० जनाको ३६ करोड ३५ लाख ८८ हजार ४३४ रुपैयाँ र टिमुरेमा ६४९ जनाको ७ करोड ९८ लाख २ हजार ७७९ रुपैयाँ मार्फत ४ हजार ९२९ जनाको रु ४४ करोड ३३ लाख ९१ हजार २१३, एनएमबि बैंक (टिमुरे) मा ३ हजार ९७५ जनाको  ९ करोड ४३ लाख १९ हजार ३५१ रुपैयाँ र ग्लोबल आइएमई बैंक (टिमुरे) मा ३ हजार ३३५ जना बचतकर्ताको  २४ करोड ४६ लाख ७९ हजार ११३ रुपैयाँ  निक्षेप रहेको छ।

यसबाहेक, टिमुरे क्षेत्रमा रहेका अन्य बैंकहरूमा सानिमा बैंकका २ हजार १४८ जनाको  १७ करोड ५१ लाख ५ हजार ९१० रुपैयाँ, माछापुच्छ्रे बैंकका ६८५ जनाको ६ करोड ९८ लाख ८० हजार ७७८ रुपैयाँ, लक्ष्मी सनराइज बैंकका ५५२ जनाको  ५ करोड ८२ लाख ८२ हजार ९७६ रुपैयाँ र नबिल बैंकका ५३५ जना ग्राहकका खातामा रहेको  ५ करोड ५२ लाख ७५ हजार ६४८ रुपैयाँ  निक्षेप गरी १५ बैंक शाखाको कुल  ४ अर्ब ४३ करोड १८ लाख १० हजार ४२८ रुपैयाँ  निक्षेप विपद्को चपेटामा परेको छ।

त्यसै गरी, भौतिक संरचना र कागजातमा क्षति पुगे पनि सर्वसाधारणको बचत पूर्ण रूपमा सुरक्षित रहने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ। बैंकहरूको डाटा केन्द्रीय कोर बैंकिङ प्रणाली  मा सुरक्षित रहने हुनाले खाता र रकममा कुनै असर पर्दैन।

विपद्का कारण पासबुक, चेक वा एटिएम कार्ड गुमाएका प्रभावित ग्राहकहरूलाई बैंकिङ सेवा सहज बनाउन राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले बायोमेट्रिक विवरण (औँठाछाप), फोटो वा नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा पहिचान यकिन गरी सोही बैंकका देशभरका अन्य कुनै पनि शाखा  वा अस्थायी काउन्टरमार्फत भुक्तानी दिने व्यवस्था मिलाएका छन्। साथै, साना बचतकर्ताको रु ५ लाखसम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ मार्फत बीमित रहेकाले विपद्को समयमा पनि बचतकर्ताको रकम सुरक्षित रहनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट