भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि

तनहुँ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।

व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिए। भोटेकोशीमा गएको बाढीपछि बेपत्ता उनको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले आज व्यास नगरपालिका–५ स्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेका हुन्।

विसं २०६२ असोज ३० गते जन्मिनुभएकी कुमाल २०८१ सालमा नेपाली सेनामा भर्ती भएका थिए। नेपाली सेनामा सेवा सुरु गरेपछि उनी रसुवाको टिमुरेमा रहेको श्रीनाथ गणमा कार्यरत थिए। शव भेटिने सम्भावना न्यून हुँदै गएपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उहाँका पिता अमर कुमालले बताए।

कुमालको दाहसंस्कारअघि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट नेपाली सेनाको टुकुडीले घाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। त्यसपछि उनका हजुरबुबा गुरुबहादुर कुमालले कुशको शवमा दागबत्ती दिएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट