
भोजपुर । पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् ।
उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनले सञ्चालन गर्दै आएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’मा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ । छ वर्षअघिदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएका विष्टले विदेशमा भन्दा राम्रो आम्दानी भएको बताए ।
“विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न सके राम्रो आम्दानी हुने रहेछ”, उनले भने । अर्का युवा भीमराज विष्ट मलेसियाबाट फर्किएर गाउँमै कृषि व्यवसायमा सक्रिय भएका छन् । उनले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला, कागतीखेती गरिरहेका छन् । गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उनको भनाइ छ ।
अर्का युवा लाल विष्टले पनि व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् । पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उनले बताए । नयाँ तथा पुरानो बगान गरी करिब ४० रोपनीमा अलैँचीखेती गर्दै आएको उनले जानकारी दिए ।
“व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ”, उनले भने, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक रु चार–पाँच लाख कमाउन समस्या छैन । गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ ।”
कृषि तथा पशुपालनका क्षेत्रमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै उत्पादन र आम्दानी बढ्न थालेको उनको भनाइ छ । विदेशबाट फर्किएका युवाहरूले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ ।













समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार