
थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पु¥याउँदा झण्डै १ हजार घरपरिवार प्रभावित भएका छन् । गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित ९३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी ९६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए ।
गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताए । ‘बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ’, उनले भने ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताए । ‘बाढीले विद्युत् आयोजनामा क्षति पुर्याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ’, उनले भने । विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिए ।
‘नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन् । क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ,’ उलने भने । विद्युतगृहमा क्षति नभए पनि बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहनुभएका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए ।
बाढी र पहिरोमा बगेर आएर ठूला ढुङ्गा बाँधमा थुप्रिएका छन् । उक्त ढुङ्गा हटाउनका लागि स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बुु विजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ । हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ । ‘बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ’, राष्ट्रियसभा सदस्य शेर्पाले भने । उनले आफूहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाएको बताए ।
उनले उक्त स्थानमा स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘मेसिन जतिसक्दो छिटो पु¥याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भरपर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ’, उनले भने । उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अष्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो । सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा रु चार करोड ४६ लाख सहयोग गरेको थियो ।
उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो । छ सय ३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी नौ सय ३० किलोवाट क्षमताको बनाइएको थियो । उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाइएको छ । यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पु¥याएको थियो । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
बाढीले खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो । बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिँसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो । जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन