
चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो ।
सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो ।
‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ’, सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ ।’ सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।
सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो । त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए । वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए । लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीयसमेत हर्षित भएका छन ।
भरतपुर–८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए । विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गर्नुभएका उनले चितवन झरेपछि कोदो रोप्न छाडेका थिए । यस वर्ष भने उनले दुई कट्ठा जमिनमा कोदो रोपेको बताए । चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोलोखेती गर्न सकिने भएकाले किसानका लागिसमेत यो लाभदायिक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए । चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन छ । गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह