
जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ । मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।
उनले मोबाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताए । ‘धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ’, उनले भने, ‘किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ । कति सफल हुन्छ हेर्न बाँकी छ ।’
उनका अनुसार मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नं १ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उनले बताए । उनले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिए ।
सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उनले जानकारी दिए । उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताए । उनले इसिमोडको रु १३ लाखको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको बताए ।
‘हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौँ, यहाँ दोस्रोपटक परीक्षण गर्दैछौँ, सफल हुनेमा हामी ढुक्क छौँ’, उनले भने् । धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने बताए । हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन