मनाङ । मनाङको प्रवेशद्वार तालगाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्ने बित्तिकै एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । तालगाउँको सुन्दरताका रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।
बिस्तारै वर्षासकिएर पर्यटकीय सिजन सुरु भएको छ । यही सिजनलाई स्वागत गरिरहेका छन् यहाँका दुई झरना माथिका डाँडाकाँडा र हरियाली वन जङ्गलले । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय मनाङको पर्यटकीय गन्तव्य बन्दै गएको छ, दुई झरना ।तालगाउँको माथि चट्टानी कापबाट शीतलता दिँदै जोडले तल झरेको झरनाको नाम नै ताल झरना रहेको छ । मनाङ प्रवेश गर्ने जोकोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छ । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तालगाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिने गर्दैनन् । यो सुन्दर झरनाबाट झरेको पानी सललल बगेको मर्स्याङ्दी नदीमा मिसिन्छ ।
झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । होटेल व्यवसायी अञ्जु तामाङले होटेलमाथिबाट झरनाको पानी खसिरहेको देखिने भएकाले टिकटक, भ्लग बनाउने युवाको लर्को नै लाग्ने गरेको बताइन् । ‘मेरो होटेल माथिबाट झरनाको पानी झरिरहेको जस्तो देखिन्छ भन्दै होटेलको आँगनमा धेरैले टिकटक बनाएका छन्, फोटो खिचेका छन्,’ उनले भनिन् ।
नासो गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले यहाँको झरनाको पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताए । पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । ‘यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने । उनले २०७८ को बाढीपछि एकै प्रकारका नयाँ बस्ती बस्दा अझै गाउँको सुन्दरता थपिएको बताए । गाउँमाथिका ताल झरनाले मर्स्याङ्दी किनारको बस्तीलाई शोभायमान बनाएको उनको भनाइ थियो ।
केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँको अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको छ । २०७८ असारको बाढीपछि ताल गाउँ बिस्तारै पर्यटकको आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पर्यटकका लागि यहाँ होटलहरु पनि खुलिसकेका छन् । पिसल्यान्ड होटेलका सञ्चालक गुरु गुरुङले झरनामा रमाउन आउने पर्यटकका कारण आफूहरूको व्यवसायलाई सहयोग पुग्ने गरेको बताए । ‘बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि भनेर आन्तरिक पर्यटक पनि आउने गरेका छन्,’ उनले भने ।
ताल गाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ । यहाँ वर्षभरि नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको संख्या बढ्दै गएको स्थानीय कोपिला गुरुङले बताइन् । यहाँ आउने पर्यटकले यहीँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने उनले बताइन् । यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ थियो । झरनामा रमाउन आउने पर्यटकले ताल गाउँको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयले लिएका छन् । झरना जस्तै स्वच्छ तवरबाट पर्यटकलाई स्वागत र सत्कार गर्दा अझै आकर्षित गरेको बताउने गरेका छन् ।