
मनाङ । मनाङको प्रवेशद्वार तालगाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्ने बित्तिकै एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । तालगाउँको सुन्दरताका रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।
बिस्तारै वर्षासकिएर पर्यटकीय सिजन सुरु भएको छ । यही सिजनलाई स्वागत गरिरहेका छन् यहाँका दुई झरना माथिका डाँडाकाँडा र हरियाली वन जङ्गलले । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय मनाङको पर्यटकीय गन्तव्य बन्दै गएको छ, दुई झरना ।तालगाउँको माथि चट्टानी कापबाट शीतलता दिँदै जोडले तल झरेको झरनाको नाम नै ताल झरना रहेको छ । मनाङ प्रवेश गर्ने जोकोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छ । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तालगाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिने गर्दैनन् । यो सुन्दर झरनाबाट झरेको पानी सललल बगेको मर्स्याङ्दी नदीमा मिसिन्छ ।
झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । होटेल व्यवसायी अञ्जु तामाङले होटेलमाथिबाट झरनाको पानी खसिरहेको देखिने भएकाले टिकटक, भ्लग बनाउने युवाको लर्को नै लाग्ने गरेको बताइन् । ‘मेरो होटेल माथिबाट झरनाको पानी झरिरहेको जस्तो देखिन्छ भन्दै होटेलको आँगनमा धेरैले टिकटक बनाएका छन्, फोटो खिचेका छन्,’ उनले भनिन् ।
नासो गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले यहाँको झरनाको पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताए । पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । ‘यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने । उनले २०७८ को बाढीपछि एकै प्रकारका नयाँ बस्ती बस्दा अझै गाउँको सुन्दरता थपिएको बताए । गाउँमाथिका ताल झरनाले मर्स्याङ्दी किनारको बस्तीलाई शोभायमान बनाएको उनको भनाइ थियो ।
केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँको अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको छ । २०७८ असारको बाढीपछि ताल गाउँ बिस्तारै पर्यटकको आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पर्यटकका लागि यहाँ होटलहरु पनि खुलिसकेका छन् । पिसल्यान्ड होटेलका सञ्चालक गुरु गुरुङले झरनामा रमाउन आउने पर्यटकका कारण आफूहरूको व्यवसायलाई सहयोग पुग्ने गरेको बताए । ‘बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि भनेर आन्तरिक पर्यटक पनि आउने गरेका छन्,’ उनले भने ।
ताल गाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ । यहाँ वर्षभरि नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको संख्या बढ्दै गएको स्थानीय कोपिला गुरुङले बताइन् । यहाँ आउने पर्यटकले यहीँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने उनले बताइन् । यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्नु आवश्यक रहेको उनको भनाइ थियो । झरनामा रमाउन आउने पर्यटकले ताल गाउँको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयले लिएका छन् । झरना जस्तै स्वच्छ तवरबाट पर्यटकलाई स्वागत र सत्कार गर्दा अझै आकर्षित गरेको बताउने गरेका छन् ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन