
विराटनगर । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषक माझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो २०८१ उद्घाटन कार्यक्रममा कृषि मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताएका हुन् ।
लगानी दशकका लागि बैँक तथा वित्तीय संस्था मार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए । ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण हुन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने ,‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’ निजी क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताउँदै कृषि मन्त्री अधिकारीले भने,‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ ।’
कृषि मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी हुने समेत बताए । नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको जनाउँदै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारी करणको खोजी गर्न आवश्यक रहेको बताए । दुग्ध विकास संस्थान मार्फत किसानलाई उपलब्ध गराउनु पर्ने दूधको मूल्य भुक्तानीका लागि सरकारले काम गरी रहेको जानकारी गराउँदै उनले भने,‘अब भुक्तानीको चरणमा रहेको छ । दुग्ध विकास संस्थान मार्फत दूधको मूल्य बक्यौता छिटै समाधान हुनेछ ।’
दूधको मूल्य वृद्धिले छुर्पी, चिज र नौनीको उत्पादन लागत बढ्न गएको पनि मन्त्री अधिकारीले बताए । नेपाली छुर्पीको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको आफूलाई जानकारी रहेको पनि उनले बताए । कोसी प्रदेशमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट समन्वय भइरहेको पनि उनले बताए । कृषि मन्त्री अधिकारीले खोरेँत रोग नियन्त्रण गर्नको लागि कोसी प्रदेशमा सुरुवात भएको र त्यसका लागि संघीय सरकार र विषेश रुपमा कृषि तथा पशुपन्छी मन्त्रालयले नीतिगत र आवश्यक साथ सहयोग रहने बताए ।
भदौ ३० गतेसम्म सञ्चालन हुने एक्स्पोमा १३० वटा स्टल रहेका छन् । एक्स्पो अवधिभर कृषि, पशुपन्छी, कस्टम हाइकिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञ सहभागितामा संवाद हुने आयोजकहरूले जनाएका छन् । पहाडी जिल्लाबाट अवलोकन गर्न आउने र एकै दिनमा फर्कन नसक्नेका लागि निःशुल्क बस्न र खानाको व्यवस्था मिलाइएको जनाउँदै एक्स्पो सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने पनि अनुमान गरिएको छ ।












समाचार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त