
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ ।
धौलागिरि आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ । सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकाले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक उक्त क्षेत्रमा पुग्नुभएका म्याग्दीका पथ प्रदर्शक सुरेन गुरुङले बताए । ‘छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरी हिमालै हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट नीरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ’, उनले भने । पदमार्ग र आइसफल क्षेत्रमा पशुपक्षिको पनि अवलोकन गर्न सकिने भएकाले सो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्य बन्नसक्ने गुरुङको भनाइ छ ।
समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरि र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताए । पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकले चौरीलाई नजिकबाट नियाल्ने गरेका उनको भनाइ छ ।
थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरि आइसफल क्षेत्रमा जाने पर्यटकले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् । पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटक टाङछारा क्षेत्रमा रहेका होटलमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने गर्छन् । बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरि आइसफल मुस्ताङ घुम्न आउने पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायी राजु गौचनले बताए । उनले मुस्ताङ भ्रमणमा आउने पर्यटक अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेका बताए । जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको उनले बताए । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकका लागि आकर्षणको रुपमा रहेको छ ।
उक्त पदमार्गमा पर्यटकको सुविधाका लागि पदमार्गसँगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोल समेत राखिएका छन् । आइसफल क्षेत्रबाट मुस्ताङका विभिन्न बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजको दृश्यसमेत निकै आकर्षक देखिन्छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम