
घोराही । जमिनको नाममा ४–५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सीप छ । त्यसैले गन्धर्वहरुको जीविका चलाउने माध्यम सारङ्गी बन्ने गरेको छ । घोराही उपमहानगरपालिका –११ हापुर मझेरा टोल निवासी ५५ वर्षीय मिठ्ठु गन्धर्वको अहिले परिवार पाल्ने सारथी बनेको छ, सारङ्गी । १४–१५ वर्षको कलिलो उमेरमै बुवासँगै गाउँघरमा गाउन हिँड्दै गर्दा सारङ्गी बजाउन र गीत गाउन सिकेका मिठ्ठुको चार दशक सारङ्गीसँगै बितेको छ । तर घरको अवस्था बदलिन सकेको छैन ।
सानै उमेरमा बुबासँग सारङ्गी बोकेर गाउँघरमा हिड्दै गर्दा गाउन र सारङ्गी बजाउन सिकेको भन्दै मिठ्ठु भन्छन् । ‘सानैमा बाबुबाजेले गर्दैआएको सारङ्गी बजाउने काम गर्न थालियो, अरू सीप सिक्नतिर ध्यान गएन । अहिले परिवारको जीविका चलाउने माध्यम यही सारङ्गी बनेको छ,’ उनले भने । परिवार पाल्नेदेखि पढाउनेलगायतको खर्च गाउँदै जुटाउने गरेका उनले पछिल्लो समय यो पेसा गन्धर्वले छोड्दै गएको बताए । करिब चार दशकदेखि सारङ्गीसँगै दाङदेखि झापासम्म गीत गाउँदै पुगिसक्नुभएका मिठ्ठु पश्चिम क्षेत्रको तुलनामा गन्धर्वलाई पूर्वतिर सम्मान गर्ने गरेको बताए ।
सारङ्गीलाई परिवार पाल्ने सहारा बनाएका मिठ्ठुले भने, ‘नेपालको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा गाउन जाँदा सम्मान मिल्छ । गन्धर्वलाई घरमा बोलाउने, गीत सुन्ने र सकेजतिको पैसा वा अन्नपात दिने गर्नुहुन्छ । पश्चिम क्षेत्रको कतिपय ठाउँमा मागी खान आएजस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तो बेला मन दुख्छ ।’ अहिले गन्धर्व समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको उनको बुझाइ छ । बुवा पुस्ताले सारङ्गी बजाउने र गीत गाउने काम गर्ने गरे पनि छोरा वा नाती पुस्ताले त्यो काम छाडेको उनले बताए ।
सारङ्गी बजाउने व्यक्तिलाई सम्मान नभएको र गाएर परिवार पाल्न नसकिने भएपछि नयाँ पुस्ताहरु कमाउनका लागि विदेशतिर जाने गरेको उनले उल्लेख गरे । गाउँघरमा बुढा पुरानासँगै गीत सङ्गीतलाई बुझेको माया गर्ने मानिसले अहिले पनि गन्धर्व समुदायलाई माया गर्ने र दसैंको समयमा मालश्री धुन सुन्नका लागि बोलाउने गरेको उनको अनुभव छ ।
दसैंमा मालश्री धुनको महत्व रहेको भन्दै मिठ्ठुले भने, ‘अन्य समयमा नसम्झिने गरे पनि दसैँको समयमा मालश्री धुन सुन्नका लागि बोलाउने मानिस हुनुहुन्छ ।’ बाजे र बुवाले बजाउँदै गर्दा आफूले मालश्री धुन बजाउन सिके पनि नयाँ पुस्ताको सारङ्गीप्रति रुचि नहुँदा अहिले गाउँमै तीन जना मात्र मालश्री धुन बजाउन सक्ने गन्धर्व रहेको उनले बताए ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार