जनकपुरधाम । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई विशेष रूपमा सिँगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यस मन्दिरमा यस पटक पनि भव्य तयारीका साथ सिँगार्न थालिएको हो ।
मन्दिर व्यवस्थापन समितिले विगतका वर्षभन्दा उत्तम तयारी गरेर पर्यटकहरुको आर्षणको केन्द्र बनाउनमा जोड दिँदै मन्दिरलाई झकिझकाउ पार्न विशेष साजसज्जाको व्यवस्था गरेको छ, जसमा विद्युत् बत्तीहरू, फूलमालाले मन्दिरलाई सजाउने काम भइरहेको छ । विगतका वर्षभन्दा यस वर्ष मन्दिर व्यवस्थापन समितिले मन्दिरलाई आकर्षक रूपमा सिंगार्न विशेष योजना बनाएको छ । मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्मका क्षेत्रहरूमा विशेष सजावटको काम भइरहेको छ ।
रङ्गीन बत्तीहरू, विद्युत बल्ब, झिलिमिली प्रकाशहरू र फूलमालाहरूले मन्दिरको शोभा बढाउने खालका सजाउवट हुँदैछ भने मन्दिरभित्र फूलमालाका विशेष तोरणहरू बनाइएका छन् । स्थानीय फूलका साथै विभिन्न स्थानबाट ल्याइएका आकर्षक प्लाष्टिकका फूलहरूले मन्दिरको सोभा बढाउने छ । मूल मूर्तिलाई विशेष रूपमा सजाइनेछ, जसले देवीको सौन्दर्य र श्रद्धालुहरूको भक्ति झल्काउँछ ।
राजदेवी मन्दिर जनकपुरधामको एक प्रमुख धार्मिकस्थल हो, जसले यस क्षेत्रमा मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्छ । दशैंको समयमा विशेष गरी महाअष्टमी र महानवमीका दिन यहाँ ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ । मन्दिर मिथिला क्षेत्रमा उच्च धार्मिक महत्व राख्ने स्थलको रूपमा परिचित छ । विशेष गरी दशैंमा यहाँ देवी दुर्गाको शक्ति र साहसको प्रतीकका रूपमा विशेष पूजा अर्चना हुन्छ । मन्दिरमा आउने भक्तजनले देवीको पूजा गर्दै आफ्नो मनोकामना पूरा हुने विश्वास राख्छन् । दशैंको समयमा यहाँ आउने हजारौँ श्रद्धालुले आफ्नो परिवार र समाजको कल्याणको कामना गर्दै विशेष पूजा गर्छन् ।
यस्तै दशैंको बेला श्रद्धालुहरूको भीड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन पनि विशेष तयारी गरिएको छ । स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिबीच भएको सहमति अनुसार, मन्दिर क्षेत्रमा प्रहरीको विशेष टोली परिचालन हुनेछ । सीसीटीभी क्यामेरा जडान गरेर सुरक्षा निगरानीलाई अझ सुदृढ बनाउने तयारी भइरहेको राजदेवी मन्दिर व्यवस्थापन समति तथा महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले बताए ।
उनले भक्तजनहरूको सुविधाका लागि मुलपूजा, कालरात्री पूजा, सुरक्षा, महाप्रसाद, खोइँच भराईसिंगार, लाइन व्यवस्थापन, रावण दहन, खाना, विजय जुलुस, रमाइलो मेला, मन्दिर परिसरमा स्वच्छता र सरसफाइ गरी १३ संयोजक समतिको व्यवस्था तथा ५० जना स्वयंसेवक परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । ‘विगतका वर्षभन्दा भव्य र सभ्य बनाउने तयारी जुटेका छौं, यसको लागि बुधबार (भोलि) पूजा समितिको बैठक पनि बस्ने छ र त्यसै बैठकबाट बोका बलिको रसिद रकम बढाउने वा यथावत् राख्ने निर्णय गरिनेछ,’ उनले भने । दशैंको समयमा जनकपुरधामका स्थानीय बासिन्दा मात्र नभई विभिन्न स्थानबाट आएका तीर्थयात्रीहरूले पनि राजदेवी मन्दिरमा विशेष पूजा आराधना गर्ने गरेका छन् भने दशैंमा यहाँ बली प्रदान गर्ने परम्पराले धार्मिक महत्व बोकेको छ ।
दशैंको अवसरमा राजदेवी मन्दिरको साजसज्जा र भक्तजनको भिडले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनःस्थापित गर्नेछ । यस पटकको विशेष तयारीले मन्दिरको सौन्दर्यमा थप निखार ल्याउने अपेक्षा गरिएको छ, जसले भक्तजनको मनमा थप श्रद्धा र आस्था जागृत गर्नेछ ।