
धरान । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउछिन् ।
दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त हुन्छिन् । उनले पोलेको सानो मकै घोगा रु २० र ठूलो मकै रु ४० सम्ममा बिक्री गर्दै गर्छिन् । ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु,’ उनले भनिन् । दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताउछिन् । ‘महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ’, उनले भनिन् ।
इटहरी–२ की पार्वती चौधरी तीन वर्र्षदेखि मकै पोलेर बिक्री गर्दै आएकि छन् । ‘बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु,’ उनले भनिन् । मकै प्रतिघोगा रु १० देखि रु १५ मा खरिद गरेर रु २० देखि रु ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन् । फुर्सदको समयमा उनले बिहान जङ्गल गएर दाउरा संकलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् । ‘बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु,’ उनले भनिन् ।
इटहरी–६ की सङ्गीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ,’ उनले भनिन् । महिनामा रु २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनको भनाइ छ । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प