
तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा रु चार लाखबढीको फूल बिक्री गरेको छ । गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य बराबरको फूल बिक्री गरेको हो ।
समूहले प्रतिकिलो रु तीन सय ५० र प्रतिमाला रु एक सयमा बिक्री गरेको जनाएको छ । उत्पादित फूल स्थानीय बजारका साथै पोखरामा बिक्री गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनका अनुसार तेस्रो र चौथो चरणको फूल छठ, एकादशी र मङ्सिरमा हुने बिहेबारीलगायत अवसरमा रु लाख ५० हजार बराबरको बिक्री गर्नेगरी तयारी भइरहेको छ । समूहमा आबद्ध ७० जना महिलाले ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्री फूलका बिरुवा लगाएका अध्यक्ष गुरुङले बताइन् ।
गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्दै पालिकालाई फूलखेतीमा आत्मनिर्भर बनाउन ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरु फूलखेतीतर्फ आकर्षित भएका हुन् । तेस्रो र चौथो टिपाइका लागि सुक्ष्म खाद्यतत्व प्रयोग गर्ने योजना रहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । पालिकाले उत्पादित फूलको बजारीकरणमा समन्वय गर्दै आएको भन्दै आगामी वर्षदेखि अनुगमन र निगरानी पनि गर्ने उनले जानकारी दिए । ‘समूहका महिला फूल उत्पादन र बिक्री गर्न सक्षम भइसकेका छन् । यसलाई व्यावसायिक बनाउन पालिकाले अनुगमन गरी थप योजना बनाउँदै जानेछ,’ उनले भने ।
यहाँ उत्पादित फूल र माला आकर्षक भएकाले बाहिरबाट निर्यात फूलले प्रतिस्पर्धा गर्न नसकेको बताए । कृषि शाखा प्रमुख केसीले अन्य जिल्लाबाट पनि माग बढी भएकाले सोअनुसार फूल र माला उपलब्ध गराउन नसकिएको बताए । यस वर्षको पहिलो चरणमा ‘ए ग्रेड’को तीन सय सयपत्री माला कतार निर्यात गरिएको उनको भनाइ छ । ‘प्रतिमाला आधा किलो तौलको थियो । गत वर्ष रु दुई लाख ५० हजारको फूल र माला बिक्री गरेका थियौँ,’ उनले भने ।
आँधीमूल र याञ्चोक महिला समूह एक भई याञ्चोकटार लघुउद्यमी महिला समूह बनेसँगै यस वर्षदेखि सामूहिक रुपमा फूलखेती थालेका हुन् । ‘महिला समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ,’ केसीले भने । महिलालाई सशक्तीकरण बनाउने उद्देश्यले फूलखेतीलाई प्राथामिकता राखी अनुदानसहित प्राविधिक र बजारीकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । ‘यसले महिला आर्थिक रुपले सक्षम हुनुका साथै पालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन सहयोग पुगेको छ’, उनले भने ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका