साढे ३ अर्बको फण्ड जारी गर्न थप तीन कम्पनीलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वटा कम्पनीले साढे ३ अर्बको फण्ड जारी गर्नेका लागि स्वीकृति दिएको छ । बोर्डले विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत कोष व्यवस्थापन (फण्ड म्यानेजमेन्ट) गर्ने स्वीकृति प्रदान गरेको हो ।

बोर्डले कोष व्यवस्थापक (फण्ड म्यानेजर) नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, स्वेडा इक्विटी फण्ड लिमिटेड र ग्लोबल इविक्टी फण्डलाई कोष व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । बोर्डका अनुसार नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ५० करोड रुपैयाँको नेशनल हाइड्रो फण्ड–२, स्वेडा इक्विटी फण्ड लिमिटेडले २ अर्ब रुपैयाँको नेपाल इम्प्याक्ट फण्ड १ र ग्लोबल इक्विटी फण्डले १ अर्ब रुपैयाँको नेपाल इम्प्याक्ट ग्रोथ फण्ड जारी गर्न स्वीकृति प्रदान गरिएको हो ।

यी तीन कोष व्यवस्थापक मध्ये नेशनल र स्वेडाले १० वर्ष तथा ग्लोबले ५ वर्षका लागि कोष व्यवस्थापनको स्वीकृति प्रदान गरिएको हो । नेशनलले आफ्नो फण्डको अधिकत रकम जलविद्युत परियोजनामा लगानी गर्नेछ । स्वेडाले ऊर्जा, कृषि, उत्पादनमुलक, सूचना प्रविधि, स्वास्थ्य, सेवा, शिक्षा लगायत ११ क्षेत्रमा लगानी गर्नेछ । ग्लोबलले क्लिन इनर्जी, उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, सेवा क्षेत्रमा लगानी गर्नेछ ।
कम्पनीहरुले कोष जारी गर्न नियामकबाट अनुमति प्राप्त गरेको दुई वर्ष भित्रमा रकम जम्मा गर्नु पर्ने हुन्छ। कम्पनीहरुले दुई वर्षको अवधिमा जति रकम संकलन गर्छन् सोही रकमको आधारमा लगानी गर्नु पर्ने हुन्छ । नेशनलले यस अघि पनि एउटा कोष व्यवस्थापन गर्ने स्वीकृति प्राप्त गरिसकेको छ भने बाँकी दुई कम्पनीले पहिलो पटक फण्ड व्यवस्थापन गर्ने अनुमति पाएका हुन् ।

नेशनल फण्ड म्यानेजमेन्टले यस अघि ७ अर्ब रुपैयाँको नेशनल इक्विटी फण्ड–१ को अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले २०८० असोज ४ गते १० वर्षका लागि कोष व्यवस्थापनको स्वीकृति पाएको हो। कम्पनीले हाल उक्त कोषका लागि पनि आवश्यक रकम संकलन गरिरहेको छ ।
सेबोनबाट एसआईएफ अन्तर्गत लाइसेन्स प्राप्त गर्ने पहिलो कम्पनीको रुपमा ग्लोबल इक्विटी फण्ड रहेको छ । तर कम्पनीले पहिलो पटक कोष व्यवस्थापनको अनुमति पाएको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले १३ कम्पनीलाई कोष व्यवस्थापकको रुपमा लाइसेन्स प्रदान गरेको छ । स्वेडा र ग्लोबले कोष व्यवस्थापनको अनुमति पाएसँगै यस्तो कम्पनीको संख्या १० पुगेको छ । सेबोनले अवसर इक्विटी लिमिटेड, अल्फा प्लस भेन्चर्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईएमबि एस क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड र नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई कोष व्यवस्थापनको लागि स्वीकृति प्रदान गरेको छ ।

यी कम्पनीहरुले साढे ३० अर्ब रुपैयाँको कोष व्यवस्थापन गर्ने अनुमति प्राप्त गरेका छन् । सबैभन्दा ठूलो कोष एनआईएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँ बराबरको एनआईबिल एक्विटी पार्टनर्स कोष व्यवस्थापन गरिरहेको छ । भने सबैभन्दा कम रकमको ५० करोड रुपैयाँको प्रभु डायनामिक प्राइभेट इक्विटी फण्ड–१ प्रभु क्यापिटलले व्यवस्थापन गरिरहेको छ ।

यस कोष अन्तर्गतको रकम यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।

फेसबुक प्रतिक्रिया