
कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।
वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए । ‘सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।’ उनका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।
डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । यो वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताए । ‘चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ’, उनले भने, ‘डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौँ ।’
सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिलेसम्म डढेलो लागेको जानकारी नआएको उनले बताए । डढेलोबाट हुने वन, जनधनको क्षति न्यूनीकरण गर्न सर्तक अवस्थामा रहेको उनी बताउँछन् । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि