
तानसेन । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।
चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।
यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।
विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गरे ।
केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका(३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका(२ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।
हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताए । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू–बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो