राजु पाण्डेलाई निलम्बन गर्न महानगरका कर्मचारीहरुको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न कर्मचारीहरुले माग गरेका छन् । स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

कर्मचारी संगठनहरुले पाण्डे निलम्बन गरेर तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन् ।

स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो । सो घटनापछि प्रमुख बालेन शाहको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनधिकृत ढङ्गले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्ष लगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरिएको पनि उनीहरूको आरोप छ । उनलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘कार्यालयको प्रशासनिक प्रमुखका रूपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनको कमाण्डमा खटिएको प्रहरीबाट भएका बाधा अवरोध एवं उनीहरूबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहाँ उपस्थित जनप्रतिनिधि एवं कर्मचारीहरूमाथि गरिएको धरपकड र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाइहरू भत्र्सनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याई छ ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार