
म्याग्दी । सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रेका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो । कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिए । ‘एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ’, उनले भने, ‘थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।’ नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको कालोपत्र र ढलान गरिने भएको छ ।
विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । यसअघि एक घण्टाको यात्राअवधी हाल २० मिनेटमा छोटिएको छ । उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।
सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट बिनियोजन नभए पनि थप भएको समयअघिनै योजना सम्पन्न गर्न लागिएको बताए । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ ।
सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो । अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो । सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात