
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उनलाई पत्तै हुँदैन ।
नौ वर्षदेखि यही काम गर्दै आएकी छन् । उनी जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरुले पैसाका लागि श्रीमान्को मुख ताक्नु परेको छैन । घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन् । घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उनी बताउँछिन् ।
थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घोँगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ । घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ’, चौधरीले भनिन्, ‘कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै ।’ औसतमा मासिक ३० हजारदेखि ३५ हजारसम्म कमाइ हुने गरेको उनले बताइन् ।
पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ ।
‘घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ,’ उनले भनिन्र्, पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौँ ।’ उनका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन् । त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ । नृत्य देखाए बापत् एक हजार ५०० देखि तीन हजारसम्म शुल्क लिने गरिएको छ ।
उनीहरुले प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बङ्गुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन् । तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बङ्गुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताइन् । घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ । वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ, भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ ।
घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताए । धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् । घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन् । घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन् ।
सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका विरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन छुटाउँदैनन् । विसं २०७३ मा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो । घरबास सञ्चालन गर्नु अघि ती महिलाहरु श्रीमान्सँगै मजदुरी गरी जीविका चलाउँथे । घरबास सञ्चालनमा ल्याएपछि मजदुरी गर्नु नपरेको स्थानीय लीला चौधरी बताउँछिन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात