
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई विघा जमिनमा खेती गर्दै आएका छन् ।
सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उनमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ । ‘त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जङ्गली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो’, उनले विगत सम्झिँदै भने, ‘यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ ।’
दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरू भएको छ । बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म छ लेनको सडक बनेको छ । छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे । पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन् । बन्दरगाह निर्माण सुरू भएपछि छोराले पुनः घर नजिकै रोजगारी पाउने आशा उनको छ । ‘बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ’, उनले भने, ‘धेरै पहिलादेखि बन्छबन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ ।’ उनले महाकाली नदीमा पुल र चाँदनीसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताए ।
सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिर्वतन भएको छ । ‘विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो,’ चाँदनीका स्थानीय नीरज भट्टले भने, ‘पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन् ।’
दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उनको भनाइ छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार