काठमाडौं । काठमाडौं महानगरपालिका वडा ३० मा कार्यरत प्रतिभा सुवेदीलाई भेट्न दिनहु जसो बहिरा अपाङ्गता भएका व्यक्तिहरु आउछन । तर संचारजन्य अवरोध अर्थात उनलाई सांकेतिक भाषा नआउदा बहिरा नागरिकहरु के कसो कामले आएका हुन् पत्तै हुदैन । त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा कार्यरत भावना खरेलको पनि उही समस्या छ ।
प्रत्येक दिनजसो बहिरा व्यक्तिहरु विभिन्न कामकाजले आउदा ति व्यक्तिहरुका के कति कामले आएका हुन् नगरपालिका भरि कसैले पत्तो पाउदैनन । यस्तै त्रिचन्द्र क्याम्पसमा अध्यरनरत अछामका भावना भट्टका पनि बहिरा अपाङ्गता भएका थुप्रै साथीहरु छन् तर भट्टलाई सांकेतिक भाषा नआउदा आफ्ना साथीहरुसँग गहिरिएर कुराकानी नै गर्न पाउँदिनन् । यस्तै कारणले उनीहरु लगायत अन्य १० जना व्यक्तिहरुले हाल भने ३ महिने सांकेतिक भाषाको तालिम लगेर सामान्य कुराकानी सांकेतिक भाषामा गर्न सक्ने भएका छन् ।

राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को सहयोगमा त्यस्ता व्यक्तिहरुलाई ३ महिने नेपाली सांकेतिक भाषा दोभाषेको तालिम प्राप्त गरेपछि प्रफुल्ल हुदै बुढानिलकण्ठ नगरपालिकामा कार्यरत भावना खरेलले आगामी दिनमा भने नगरपालिकामा बहिरा व्यक्तिहरु आए भाषागत अवरोध सामना गर्न नपर्ने हुदा खुसी लागेको प्रतिक्रिया दिइन् । यति मात्र हैन खरेलले आगामी दिनमा पनि सांकेतिक भाषाको तालिम लिन पाए थप धेरै भाषागत ज्ञान प्राप्त गर्न सहज हुने उनको धारणा थियो ।

आइतबार रातोपुलमा समापन गरिएको ३ महिने नेपाली सांकेतिक भाषा तालिममा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघका अध्यक्ष लक्ष्मी देवकोटा महर्जनले बहिरा नागरिकहरुले संचारको अवरोधले आफ्ना न्युनतम अधिकारहरु समेत उपभोग गर्न सास्ती भोगिरहनु परेको बताइन् । ३ महिने सांकेतिक भाषा तालिमलाई सहयोग गरेकोमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० लाई धन्यवाद दिदै अध्यक्ष देवकोटाले अन्य वडाहरुले पनि सांकेतिक भाषा तालिममा जोड दिन सकिए संचारमा सबै बहिरा नागरिक पहूच पुग्ने र अवरोधमुक्त अवस्थाको सिर्जना हुने उनको बिश्वाश थियो ।

‘सांकेतिक भाषा सिकौ, संचारमा पहूच बढाऔ’ भन्ने नाराका साथ सक्रिय राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले काठमाडौं महानगरपालिका वडा ३० कै सहयोगमा ३ महिने नेपाली व्याकरण भाषा तालिम पनि दिएको थियो जसमा १६ जना बहिरा अपाङ्गता भएका नागरिकहरुले भाग लिएका थिए । यति मात्रै हैन उक्त सस्थाले ७ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई ५ दिने सिपमुलक तालिम पनि प्रदान गरेको थियो ।
ति तालिमहरुको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले भाषागत अवरोध नै सबैभन्दा ठुलो अवरोध भएकाले सांकेतिक भाषाको तालिम आगामी दिनमा पनि जोड्दै जाने प्रतिबद्धता व्यक्त गरे । सञ्चारकै समस्याले बहिरा नागरिकले के कस्ता समस्याहरु भोग्नुपर्ने हुन्छ त्यो सहजै अनुमान लाउन सकिन्छ, यसर्थ सांकेतिक भाषा पनि अन्य भाषा जस्तै भाषा भएकाले यसको प्रवर्धन एवं संरक्षणका लागि आफुले सक्ने सहयोग सधै गर्दै जाने बिश्वाश ३० का वडा अध्यक्ष कार्कीको थियो । कार्यक्रममा स्वावलम्वन जीवन पद्दती केन्द्र ललितपुरका अध्यक्ष भोझराज श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा ३० का वडा सचिव देव राज जोशी लगायतको पनि उपस्थिति रहेको थियो ।