
सिरहा । सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग संघर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसीसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।
झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौंको प्रतीक्षा र संघर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ । मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गरेका थिए । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।
उनी भन्छन्, ‘हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ । आज त्यो सपना साकार भएको छ । यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ ।’ उनका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पथ्र्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।
स्थानीय सोनु यादव भन्छन्, ‘पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे । हामी आफैँ लाज मान्थ्यौँ पाहुना बोलाउन पनि । अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ । अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन् ।’ वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ । झण्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन् । ‘यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुप¥यो’, उनले भने, ’हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ । अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ ।’
पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसीसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ । उनले भने, ‘गाउँघरका शाखा सडकमा आरसीसी ढलान उपयुक्त हुन्छ । यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ ।’
उनका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रिने गरेका छन् । यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो