सिरहा । सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग संघर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसीसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।
झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौंको प्रतीक्षा र संघर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ । मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गरेका थिए । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।
उनी भन्छन्, ‘हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ । आज त्यो सपना साकार भएको छ । यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ ।’ उनका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पथ्र्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।
स्थानीय सोनु यादव भन्छन्, ‘पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे । हामी आफैँ लाज मान्थ्यौँ पाहुना बोलाउन पनि । अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ । अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन् ।’ वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ । झण्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन् । ‘यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुप¥यो’, उनले भने, ’हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ । अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ ।’
पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसीसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ । उनले भने, ‘गाउँघरका शाखा सडकमा आरसीसी ढलान उपयुक्त हुन्छ । यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ ।’
उनका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रिने गरेका छन् । यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ ।