
मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत ३१ लाख ४९ हजार रुपैयाँ राहत वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका पशुपालक किसानलाई क्षतिपूर्तिस्वरुप उक्त राहत प्रदान गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) मनाङको क्षेत्राधिकारमा वन्यजन्तुले क्षति पुर्याएबापत राहत प्रदान गरिएको जनाएको छ । जिल्लाका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार २९२ रुपैयाँ राहत प्रदान गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका पशुपालक किसानालाई १४ हजारदेखि तीन लाख ३५ हजार रुपैयाँसम्म राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । उनले भने, ‘हिउँ चितुवाको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराइएको हो । किसानका याकचौँरी, भेडाच्याङ्ग्रालाई वन्यजन्तुको आक्रमणबाट क्षति पुर्याएकाले क्षतिपूर्ति प्रदान गरिएको छ । गत वर्षमा भएका समेत गरी यस वर्ष राहत प्रदान गरिएको छ ।’
हिउँ चितुवाको आक्रमणबाट भ्राकाका पशुपालक किसान मनकुमारी विकको पशुधनमा सबैभन्दा बढी क्षति भएबापत तीन लाख ३५ हजार रुपैयाँ राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । पशुपालक किसान सुरेश थकालीको हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधन क्षति भएबापत दुई लाख ३० हजार रुपैयाँ राहत प्रदान गरिएको छ । त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पुर्याएबापत ताचैका शम्भु घलेलाई ९७ हजार रुपैयाँ राहत प्रदान गरिएको छ । हिमाली कालो भालुको आक्रमणबाट घाइते भएका घलेलाई सो रकम राहत प्रदान गरिएको हो ।
मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आव २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ संरक्षण कार्यालय (एक्याप)ले जनाएको छ । यस वर्ष वन्यजन्तुको आक्रमणबाट ५८ याकचौँरी, २२ खसीबाख्रा र च्याङ्ग्रा, एउटा घोडा र ६ गाईगोरु मरेका छन् । हिउँचितुवा, चितुवा, भालुलगायतका वन्यजन्तुको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ । गत वर्षको तुलनामा यस वर्ष वन्यजन्तुको आक्रमणबाट याकचौँरी बढी मरेका छन् । आव २०८०/८१ मा याकचौँरी १७, खसीबाख्रा र च्याङ्ग्रा ३७ र एउटा घोडा मरेका थिए । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको एक्यापले जनाएको छ ।
‘याकचौंरी खुला आकाशमुनि पाल्ने चलन छ । एउटै किसानले धेरै सङ्ख्यामा याकचौँरीपालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ’, प्रमुख भुजेलले भने, ‘याकचौंरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचाँैरी खुला आकाशमुनि नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।’
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि माथि सार्नुपरिरहेको छ । खर्कमाथि सरेर पशुको चरनक्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भावना बढेको छ ।’ पानीको मुहान भएका क्षेत्रमा घाँसेमैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ ।
पशुपालक किसान एवं याकचौँरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भने, ‘विगतमा पनि वन्यजन्तुबाट आक्रमण हुन्थ्यो । अहिले बढ्दै गएको छ ।’ पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । यसबाट किसान मर्कामा पर्ने गरेका उनले बताए । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पुर्याउने उद्देश्यले क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसले पशुपालक किसानलाई राहत पुगेको अध्यक्ष थकालीले बताए ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द