वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत पशुपालक किसानलाई ३१ लाख राहत वितरण

मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत ३१ लाख ४९ हजार रुपैयाँ राहत वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका पशुपालक किसानलाई क्षतिपूर्तिस्वरुप उक्त राहत प्रदान गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) मनाङको क्षेत्राधिकारमा वन्यजन्तुले क्षति पुर्याएबापत राहत प्रदान गरिएको जनाएको छ । जिल्लाका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार २९२ रुपैयाँ राहत प्रदान गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका पशुपालक किसानालाई १४ हजारदेखि तीन लाख ३५ हजार रुपैयाँसम्म राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । उनले भने, ‘हिउँ चितुवाको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराइएको हो । किसानका याकचौँरी, भेडाच्याङ्ग्रालाई वन्यजन्तुको आक्रमणबाट क्षति पुर्याएकाले क्षतिपूर्ति प्रदान गरिएको छ । गत वर्षमा भएका समेत गरी यस वर्ष राहत प्रदान गरिएको छ ।’

हिउँ चितुवाको आक्रमणबाट भ्राकाका पशुपालक किसान मनकुमारी विकको पशुधनमा सबैभन्दा बढी क्षति भएबापत तीन लाख ३५ हजार रुपैयाँ राहत प्रदान गरिएको प्रमुख भुजेलले बताए । पशुपालक किसान सुरेश थकालीको हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधन क्षति भएबापत दुई लाख ३० हजार रुपैयाँ राहत प्रदान गरिएको छ । त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पुर्याएबापत ताचैका शम्भु घलेलाई ९७ हजार रुपैयाँ राहत प्रदान गरिएको छ । हिमाली कालो भालुको आक्रमणबाट घाइते भएका घलेलाई सो रकम राहत प्रदान गरिएको हो ।

मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आव २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ संरक्षण कार्यालय (एक्याप)ले जनाएको छ । यस वर्ष वन्यजन्तुको आक्रमणबाट ५८ याकचौँरी, २२ खसीबाख्रा र च्याङ्ग्रा, एउटा घोडा र ६ गाईगोरु मरेका छन् । हिउँचितुवा, चितुवा, भालुलगायतका वन्यजन्तुको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ । गत वर्षको तुलनामा यस वर्ष वन्यजन्तुको आक्रमणबाट याकचौँरी बढी मरेका छन् । आव २०८०/८१ मा याकचौँरी १७, खसीबाख्रा र च्याङ्ग्रा ३७ र एउटा घोडा मरेका थिए । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको एक्यापले जनाएको छ ।

‘याकचौंरी खुला आकाशमुनि पाल्ने चलन छ । एउटै किसानले धेरै सङ्ख्यामा याकचौँरीपालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ’, प्रमुख भुजेलले भने, ‘याकचौंरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचाँैरी खुला आकाशमुनि नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।’

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि माथि सार्नुपरिरहेको छ । खर्कमाथि सरेर पशुको चरनक्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भावना बढेको छ ।’ पानीको मुहान भएका क्षेत्रमा घाँसेमैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ ।

पशुपालक किसान एवं याकचौँरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भने, ‘विगतमा पनि वन्यजन्तुबाट आक्रमण हुन्थ्यो । अहिले बढ्दै गएको छ ।’ पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । यसबाट किसान मर्कामा पर्ने गरेका उनले बताए । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पुर्याउने उद्देश्यले क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसले पशुपालक किसानलाई राहत पुगेको अध्यक्ष थकालीले बताए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार