काठमाडौं । भारतविरुद्ध पाँचौ तथा अन्तिम टेस्टमा इंग्ल्याण्ड जितको नजिक पुगेको छ । ओभलमा जारी टेस्टमा चौथो दिनमै नतिजा आउने अवस्था थियो । तर, खराब मौसमका कारण चौथो दिनको खेल समाप्त भयो । नतिजाका लागि पाँचौं तथा अन्तिम दिन कुर्नु पर्ने भएको छ ।
३७४ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोलीले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । घरेलु टोलीलाई पाँचौ दिन जितका लागि ३५ रन जोडे पुग्छ । टोलीको ४ विकेट बाँकी छ । भारतले जित निकाल्न ४ विकेट लिनु पर्ने हुन्छ । दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले ।
ब्रुकले १११ रन बनाए भने रुटले १०५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए । भारतका लागि प्रसिद्ध कृष्णाले ३, मोहम्मद सिराजले २ तथा आकाश दिपले १ विकेट लिए । पाँचौ दिनमा घरेलु टोलीले लक्ष्य पूरा गरे उसको टेस्ट इतिहासको दोस्रो ठूलो लक्ष्य पछ्याउँदै जित निकाल्ने छ । त्यो अवस्थामा इङ्ग्ल्याण्डले ३–१ ले टेस्ट सिरिज जित्नेछ । इङ्ग्ल्याण्डले भारतविरुद्ध नै सन् २०२२ मा ३७८ रनको लक्ष्य पूरा गरेको थियो ।
पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३९६ रन जोडेर ३७३ रनको अग्रता लिएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २४७ रन जोडेको थियो । ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २–१ ले अघि छ ।