साउदी अरेविया विरुद्ध नेपालको साँघुरो जित

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले साउदी अरेबिया विरूद्ध साँघुरो जित निकालेको छ । नेपालले साउदीलाई १–० को जित निकालेको हो ।

भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेले । तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले खेलको अन्तिम समयमा गोल गर्दै जित निकाल्यो । नेपालले गोल गर्ने सुनौलो अवसर गुमायो । खेलको ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना देउवा गोल गर्नबाट चुकिन् ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीतर्फ उन्मुख हुँदा ९० औं मिनेटमा नेपालले गोल गर्यो । नेपालका लागि शुक्रिया मियाको गोल गरिन् । यसअघि नेपाल आयोजक भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । साउदी अरेबिया आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को फराकिलो नतिजामा पराजित भएको थियो ।

अब नेपालले बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग आइतवार खेल्नेछ । यस प्रतियोगिताबाट प्रत्येक समूहको विजेता एएफसी यू–२० महिला एसियन कपमा छनोट हुनेछन् । साथै ३ उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार