
सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् ।
भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा रु ५० हजारबाट खेती सुरु गरेको बताए । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । गुप्ताले भने, “सुरुका वर्षहरूमा घाटा खेप्नुपरे पनि पछिल्लो समयमा प्रशस्त आम्दानी भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी बचत हुने गरेको छ ।” उनका अनुसार अहिले पाँचवटा टनेलमा पाते जातको च्याउखेती भइरहेको छ ।
बजारमा अहिले प्रतिकिलो रु १८० देखि रु १९० र फार्ममा किन्न आउने व्यापारीलाई रु १५० मा च्याउ बिक्री गरिरहेको गुप्ताले जानकारी दिए । “गत वर्षको तुलनामा यस वर्ष खेती बढाएको छु । उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ”, उनले भने, “गत वर्ष यही समयमा प्रतिकिलो रु १२० मा बिक्री भएको च्याउ अहिले रु १८० सम्म पुगेको छ । हिउँदयाममा रु २२० सम्म पुग्छ ।” विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए । च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिए । खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएका भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे ।
“व्यवसाय भएकाले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने । उनका अनुसार चैतमा लगाइएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ । सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे । “सुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सीप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने ।
च्याउखेतीका लागि पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अग्र्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे । उनका अनुसार च्याउ भदौ–असोजमा बढी बिक्री हुन्छ । गुप्ताले विसं २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु ९० हजार अनुदान पाएका थिए । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।












समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज