
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका बारमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । बीमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्नसक्ने, त्यसभन्दा माथिको बीमा दाबी भुक्तानीको हकमा नियम बमोजिम पुनर्बीमकले पेश्की स्वरूप अग्रिम रूपमा रकम दिनुपर्ने र तरलता व्यवस्थापनमा पुनर्बीमकले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गरेका छन।
साथै, उनीहरुले आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका भौतिक सम्पत्तिको बीमा दाबी भुक्तानीका सन्दर्भमा विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन प्राप्त गर्न नसकिने र वडा कार्यालय तथा प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएका कारण सिफारिश समेत प्राप्त गर्न कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।
यसैगरी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमकले पुनर्बीमाका लागि प्रस्ताव गर्दा तथ्याङ्क विश्वसनीय हुनुपर्ने, दाबी भुक्तानीका सन्दर्भमा गर्न सकिने सहयोग गर्न पुनर्बीमकहरू तयार रहेको लगायतका धारणा राखे ।
छलफलमा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालको गैरप्राकृतिक विपद्मा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई सरल एवम् सहज बनाउन प्राधिकरणले बीमा नियमावली, २०८१ मा भएको व्यवस्था अनुरूप बीमा दाबी भुक्तानी सम्बन्धी सङ्क्षिप्त कार्यविधि बनाई लागू गर्न सक्ने व्यवस्था भएकाले सो सम्बन्धमा तीन दिनभित्र राय–सुझावहरू दिन बीमक तथा पुनर्बीमकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनुरोध गरेका छन् ।
कार्यकारी निर्देशक सुवेदीले बीमा गरेपछि बीमा दाबी पाइन्छ भन्नेमा सर्वसाधारण आश्वस्त हुने गरी काम गर्न र बीमा दाबी सम्बन्धी तथ्याङ्क सङ्कलन तथा दाबी भुक्तानीमा सहजीकरण गर्न फोकल पर्सन तोकेर सार्वजनिक रूपमा जानकारी दिन बीमकहरूलाई निर्देशन दिए ।
कार्यकारी निर्देशक सुवेदीले बीमकहरूले आफूले बीमा गरेका भौतिक तथा अन्य सम्पत्तिमा भएको क्षतिका बारेमा जानकारी पाएमा त्यसका बारेमा यथाशिघ्र बीमितलाई जानकारी दिएर दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि पहल गर्न समेत निर्देशन दिएका हुन ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
बीमा सर्भेयर संघ, नेपालसँग छलफल
यसैगरी, नेपाल बीमा प्राधिकरणले हालको गैरप्राकृतिक विपद्को अवस्थामा बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने सम्बन्धमा बीमा सर्भेयरको भूमिकाका सम्बन्धमा आजै बीमा सर्भेयर संघ, नेपालसँग छलफल गरेको छ ।
छलफलमा बीमा सर्भेयर संघका पदाधिकारीहरूले हालको विषम अवस्थालाई ध्यानमा राखी न्यूनतम कागजातका आधारका सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरूले समानुपातिरूपमा काम पाउनुपर्ने, क्षति भएका स्थानमा बीमा सर्भेयरले सहजै प्रवेश पाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरुलाई बढी जिम्मेवार बनाउनुपर्ने लगायतका धारणा ब्यक्त गरेका थिए ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा नियमावली, २०८१ मा गम्भीर प्रकृतिको विपद्को समयमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी सङ्क्षिप्त कार्यविधि लागू गर्ने व्यवस्था भए बमोजिम प्राधिकरणले सङ्क्षिप्त कार्यविधि लागू गर्ने तयारी गरिरहेको उल्लेख गर्नुहुँदै त्यस सम्बन्धमा तीन दिनभित्र राय–सुझाव दिन सर्भेयर संघका पदाधिकाहरुलाई आग्रह गरेका हुन् ।
कार्यकारी निर्देशक सुवेदीले बीमा सर्भेयरले आफूले प्राप्त गरेको इजाजतपत्रका आधारमा हालको अवस्थामा पनि सहजै काम गर्न सक्ने स्पष्ट गरेका छन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल