काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले यसअघि भदौ २५ गते निष्कासन बन्द गरिसकेको थियो। तर, हालैको जेन–जी आन्दोलनले आवेदन प्रक्रियामा अवरोध पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि दुई दिन थप म्याद तोकिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको अनुसार कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्दै आएको छ। यसमा १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) सेयर आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको छ भने १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विनियोजन गरिएको छ।
रुपन्देही र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीयले नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।