काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले कतारको विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यो खेलमा पनि जित निकाल्दै नेपाल छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिने योजनामा हुने छ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो ।
नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपाली टोलिमा ललित राजवंशीको स्थानमा अलराउण्डर आदिल आलमलाई खेलाइएको छ ।