काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाई स्थगित भएको छ । रविका कानुन व्यवसायीले माग गरेपछि उच्च अदालत बुटवलमा दायर गरेको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको हो ।
गोला प्रथाबाट तीन नम्बर इजलासको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ परेको थियो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा आजका लागि पेसी तोकिएको थियो । तर, लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन माग गरेपछि सुनुवाइ स्थगित भएको बताइएको छ ।
यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीबारे सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो । सोही मिसिल प्राप्त हुने अपेक्षासहित बिहीबारका लागि पेसी तोकिएको थियो ।