
बाँके । “पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यवसायले आज यो उचाइमा पुर्याउला भनेर मैले सोचेको पनि थिइन ।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले भनिन् । उनका अनुसार उक्त फार्ममा पालिएका स्थानीय कुखुरा बिक्री गर्दा महिनामा अढाइदेखि तीन लाखसम्मको आम्दानी हुने गर्दछ ।
बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा पाल्दै आएकी ३८ वर्षीया कृषि उद्यमी महिला सरिता थापाको दैनिकी बिहान साढे ४ बजेदेखि राति एघार बजेसम्म हुने गर्दछ । साढे १३ कठ्ठामा कुखुरा पालन गरेकी सरिताका अनुसार अन्य प्रजातिका कुखुराका तुलनामा स्थानीय प्रजातिका कुखुरा पाल्न सजिलो हुन्छ । झट्ट रोगले पनि नसमात्ने र औषधिका रूपमा लसुन, टिमुर, बेसारजस्ता घरेलु जडीबुटीको सेवन गराएर पनि निको पार्न सकिने उनले बताइन् ।
विसं २०७६ सालमा व्यावसायिक रूपमा नै एचपिटि पोल्ट्री फार्म दर्ता गरेर सरिताले स्थानीय प्रजातिका कुखुरा पाल्दै आएकी छिन् । सुरुवातमा पाँच लाखको लगानी लगाएर फार्ममा कुखुरा पाल्न सुरु गरे पनि हाल एकभन्दा माथिको खर्चमा र्फामा लगानी भएको उनको भनाइ छ । “डरैडरमा भएपनि सुरुमा जे परे पर्ला भनेर आँट गरेर नै पाँच लाखको लगानीमा मैले कुखुरा पाल्ने निधो गरेर यो व्यवसायमा हात हालेकी थिएँ ।” उनले भनिन्, “बिस्तारै व्यवसाय फस्टाउँदै गएपछि भने यसैमा लगानी लगाउन मन लाग्यो र दर्ता गरेपछि भने झन्डै एक करोडभन्दा माथिको लगानी लगाइसकेकी छु ।”
आफ्नै जग्गामा कुखुरा व्यवसाय गरेको हुनाले जग्गाको भाडा तिर्न नपरेको हुँदा आम्दानीमा सहयोग पुगेको सरिताले बताइन्, “हामीले आफ्नै जग्गामा यो व्यवसाय सञ्चालन गरेको हुनाले पनि जग्गा भाडाको पैसा जोगिएको छ ।” उनले भनिन्, “हामीले कुखुराको चल्ला यही आफैँले उत्पादन गर्ने गर्छौँ, अण्डा र चल्लाबाट पनि आम्दानी हुने गरेको छ ।” सरिताका अनुसार कडकनाथ, घाटी खुइले, उल्टे, साकिनी, सोनालीजस्ता स्थानीय प्रजातिका कुखुरा गरी हाल उहाँको फार्ममा चार हजार प्रजातिका स्थानीय कुखुरा छन् ।
म्यानेजमेन्टमा स्नातक तहसम्मको पढाई पढ्नु भएकी सरिताले डेढ वर्ष जति हिमालय बैङ्कमा काम गरे पनि यो व्यवसायमा लाग्नका लागि घर परिवार र विशेष गरी ससुरा र श्रीमान्ले प्रेरित गरेको उनले बताइन् । पढाइ एकातिर र व्यवसाय अर्कातिर भएर कृषि उद्यमी महिलाका रूपमा चिनिनु भएकी सरिताले कुनै पनि काममा सफल हुनका लागी निरन्तरता, इमानदारिता र कडा परिश्रमसहित मेहनत गर्नुपर्ने बताइन् । “कुनै समय थियो अब त सक्दिन होला भन्ने तर मैले मेहनत गर्न छाडिन । निरन्तर यसैमा आफ्नो सबै समय र दिमाग लगाएँ आज कृषि उद्यमी महिलाका रूपमा चिनिएकी छु,” उनले भनिन् ।
कुखुरा बिरामी हुँदा भनेको समयमा भेटनेरी डक्टार नआई दिने र आए पनि कुखुरा अलि धेरै नै बिरामी भइसक्ने भएको हुनाले सरिता आफैँले भेटनेरी शिक्षा पढेको पनि बताइन् । हिजोआज सरिता आफैँले कुखुरा बिरामी हुँदा चेक जाँच गर्ने र आवश्यक औषधि प्रयोग गर्ने गरेको सुनाइन् । सरिताको फार्ममा स्थानीय प्रजातिका कुखुरा मात्रै छैनन् । उनले आफ्नो फार्ममा बट्टाई, लौकाट, कालिजलगायतका पक्षी पनि व्यावसायिक रूपमा पालेकी छिन् ।
अठतिस वर्षको उमेरमा नै एउटा सफल कृषि उद्यमी महिलाको नाममा चिनिनु भएकी सरिताले फर्किएर ती दिन सम्झँदै भनिन्, “विगत सम्झिए भने मलाइ पत्याएरै लाग्दैन । दोमन भएर सुरु गरेको व्यवसायले आज सफल व्यवसायी बनाउँदा खुसीको त सीमा नै छैन ।” उनले भनिन्, उक्त व्यवसायबाट नै सरिताको सबै घर खर्च, कुखुराका लागि दानापानी र दुई सन्तानको लालनपालन सबै चल्दै आएको छ । व्यवसाय सञ्चालन गरेपछि एक पटक मात्र काहोलपुर नगरपालिकाबाट बट्टाई पालनका लागी भनेर रु ५० हजारको अनुदान बाहेक हालसम्म अरू कुनै ठुलो रकम दाबी गरेर सरकारी अनुदान नलिएर नै आफ्नै लगानीमा कुखुरा पाल्दै आएको उनले बताइन् ।
गर्न सके आफ्नै देशमा, आफ्नै माटोमा धेरै सम्भावना र भविष्य भएको बताउने सरिता विदेशीनै युवाका लागि एक प्रेरणाको श्रोत बनेकी छिन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू