
काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ जारी गर्दै वस्तु तथा सेवा खरिद गर्दा बीजक लिने उपभोक्तालाई उपहार प्रदान गर्ने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै कार्यविधि जारी गरेको हो। कार्यविधिको उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्नु रहेको मन्त्रालयले जनाएको छ।
कार्यक्रम आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ। विभागले आवश्यक परे कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि आयोजक (इभेन्ट अर्गनाइजर) समेत छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। विद्युतीय भुक्तानीमार्फत गरिएको खरिद स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद कारोबारका हकमा उपभोक्ताले तोकिएको प्रणालीमा बीजक नम्बर, विक्रेताको स्थायी लेखा नम्बर (प्यान), बीजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ।
प्रत्येक योग्य खरिद बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिदका आधारमा एक उपहार टिकट उपलब्ध गराइनेछ। एउटै बीजकलाई एकभन्दा बढी पटक कार्यक्रममा सहभागी गराउन भने पाइने छैन।
व्यावसायिक प्रयोजनका लागि भएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा र हवाई टिकटसम्बन्धी बीजक तथा प्यान नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बीजक भने कार्यक्रममा समावेश नहुने कार्यविधिमा उल्लेख छ।
विभागले प्रत्येक महिनाको १ गते र १६ गते विजेता उपभोक्ता छनोट गर्नेछ। महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका योग्य कारोबार र १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका योग्य कारोबारमध्येबाट विजेता छनोट गरिने व्यवस्था गरिएको छ।
सरकारले यो कार्यक्रममार्फत उपभोक्तालाई अनिवार्य रूपमा बीजक लिन प्रोत्साहित गर्दै करको दायरा विस्तार, पारदर्शी कारोबार प्रवर्द्धन र कर अनुपालनमा सुधार ल्याउने लक्ष्य राखेको जनाएको छ।












समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक