सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप 

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ । कम्पनीको आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मस्र्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार