बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

दैलेख । दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् । बँदेलकाे आक्रमणबाट भैरवी गाउँपालिका–६ कुर्मकाेटका ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । बाख्रा चराउन गएको अवस्थामा उनलाई बँदेलले आक्रमण गरेको हो ।

दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको घटनास्थलमै मृत्यु भएको महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए । सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् ।

उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयले बताएका छन् । महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, ‘आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतंकित छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।’

घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छभने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए ।

‘हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ,’ प्रजिअ सारुले भने । यो क्षेत्रमा विगत केही समयदेखि जंगली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार