काठमाडौं । भारतलाई लिएर बंगलादेश र पाकिस्तानबीच देखिएको असन्तुष्टि अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ।मोस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिर राखिएपछि विवाद सुरु भएको थियो। त्यसपछि सुरक्षा चिन्ताको कारण देखाउँदै बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने निर्णय गरेको थियो।
लगत्तै आईसीसीले बंगलादेशलाई बाहिर राख्दै स्कटल्यान्डलाई विश्वकप खेलाउने निर्णय गरेको थियो। यी सबै घटनाक्रमपछि आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)बीचको विवाद समाधानतर्फ उन्मुख देखिन्छ।
क्रिकबजको दाबीअनुसार पाकिस्तानले भारतविरुद्ध टी–२० विश्वकपको खेल खेल्ने सर्तका रूपमा त्रिदेशीय सिरिजको माग गरेको छ। उक्त सिरिजमा भारत, बंगलादेश र पाकिस्तान खेल्नेछन्।
लाहोरको गद्दाफी स्टेडियममा आइतबार आईसीसी प्रतिनिधि, पीसीबी र बीसीबीका शीर्ष अधिकारीहरूबीच लामो त्रिपक्षीय बैठक भएको थियो। सो बैठकपछि विषय पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफसम्म पुगेको बताइएको छ। अन्तिम निर्णय प्रधानमन्त्रीबाटै आउने सम्भावना छ।
आजकै दिन प्रधानमन्त्री शाहबाज शरीफ र पीसीबी अध्यक्ष महसिन नकवीबीच बैठक हुन सक्ने संकेत पनि मिलेको छ। खेल हुन अब एक हप्ताभन्दा कम समय बाँकी रहेकाले ढिलाइ भए दुवै पक्षका लागि आत्मघाती सावित हुन सक्छ। भारत–पाकिस्तानबीचको बहुप्रतीक्षित खेल १५ फेब्रुअरीमा कोलम्बोमा हुने तय छ।
आईसीसी भने पाकिस्तानको मागप्रति कठोर देखिएको छ। सदस्य सहभागिता सम्झौता (एमपीए) र डिसेम्बर २०२४ मा हस्ताक्षरित सम्झौता अनुसार पाकिस्तानले खेल्नै पर्ने आईसीसीको अडान छ। उक्त सम्झौतामा भारत–पाकिस्तानका खेल तटस्थ स्थानमा आयोजना गर्ने हाइब्रिड मोडेल समावेश थियो।
त्रिदेशीय सिरिजको प्रस्ताव
मिडियामा चर्चामा भएमध्ये केही सत्य हुन सक्ने संकेत देखिएको छ। पीसीबीले बंगलादेशका लागि पनि भारतसँग द्विपक्षीय सिरिज पुनः सुरु गर्न माग गरेको छ। अझ अघि बढ्दै भारतलाई समेटेर त्रिदेशीय सिरिजको प्रस्ताव गरेको बताइएको छ।
तर, आईसीसीले भारतसँग कुनै द्विपक्षीय वा त्रिदेशीय सिरिजको ग्यारेन्टी दिन नसक्ने स्पष्ट पारेको छ। यो पूर्ण रूपमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र भारत सरकारको निर्णयमा निर्भर रहने विषय हो। यद्यपि, सेप्टेम्बरमा हुने भनिएको भारत–बंगलादेश द्विपक्षीय सिरिज पनि हालको कूटनीतिक तनावका कारण अनिश्चित बनेको छ।
क्रिकबजका अनुसार पीसीबी र बीसीबीका केही माग पूरा गर्ने आश्वासन भने दिइनेछ। यदि विवादको समाधान भयो भने त्यो आईसीसीको सदिच्छा र विशेषगरी बीसीबीसँग निरन्तर संवादको परिणाम हुनेछ।
आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा पनि लाहोरमा उपस्थित थिए भने यूएई क्रिकेट बोर्डका निर्देशक मुबाशिर उस्मानी अनलाइनमार्फत छलफलमा जोडिएका थिए। यद्यपि, वास्तविक कूटनीतिक प्रयास दुबई र मुम्बईबाट निरन्तर भइरहेको बताइएको छ।