काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसिसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । प्रतिनिधिमण्डलमा भारतका २० सदस्य, पाकिस्तानका १२ सदस्य, भुटानका ९ सदस्य तथा मालदिभ्सका ५ सदस्यीय टोली सहभागी थियो ।
प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन् । विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् । राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब सात हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ ।
नेपालले मित्र राष्ट्रहरूका सेवा दलसँग पारस्परिक रूपमा युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिङ्गापुर र श्रीलङ्कासँगको पारस्परिक भ्रमणमा सहभागी गराइँदै आएको छ । साथै, सहभागी राष्ट्रहरूलाई वार्षिक नेपाल सेना दिवस समारोहमा समेत आमन्त्रण गरिन्छ ।