तेहरान । संयुक्त अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र रणनीतिक केन्द्रहरूमा भीषण प्रतिशोधात्मक आक्रमण जारी राखेको छ । इरानी आक्रमणका कारण बहराइनको मनामास्थित मिना सलमान बन्दरगाह नजिकैको समुद्री केन्द्रमा ठूलो आगलागी भएको छ। बहराइनको गृह मन्त्रालयले यसलाई इरानी आक्रामकताको संज्ञा दिँदै नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको पुष्टि गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा उक्त क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छ।
यसैबिच, इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको अमेरिकी सैन्य आधार शिविर ’भिक्टोरिया बेस’ मा दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको छ। सुरक्षा स्रोतका अनुसार एउटा ड्रोन आधार शिविरभित्रै खसेको थियो भने अर्कोलाई खसालिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै आगामी दिनमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनले इरानी जनतालाई इस्लामिक गणतन्त्रको शासन सत्ता ढाल्न र विद्रोह गर्न समेत आह्वान गरेका छन्।
द्वन्द्वको बाछिटा छिमेकी मुलुकहरूमा पनि तीव्र रूपमा फैलिएको छ। इजरायलको बेइत शेमेश सहरमा इरानी मिसाइल खस्दा ९ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। सिरियाको दमासकस नजिकै ऐन तेर्मामा इरानी मिसाइलको भग्नावशेष खस्दा एकै परिवारका बाबु र तीन छोरी घाइते भएका छन्। इरानले कतार, बहराइन, जोर्डन, ओमान, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका विमानस्थल, आवासीय भवन र होटलहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।
खाडी मुलुकहरूले इरानी आक्रमणको प्रतिकार गर्ने र आफ्नो रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इरान विरुद्धको रक्षात्मक आक्रमणका लागि अमेरिकालाई आफ्ना सैन्य आधार शिविरहरू प्रयोग गर्न अनुमति दिएका छन्।