“परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा” अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । “परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा” विषयमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्य एव सभापति शिव प्रसाद घिमिरे समूहको आयोजनामा होटल एभरेस्ट, नयाँ बानेश्वरमा सम्पन्न कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सुधारका सम्भावित उपायबारे वृहत छलफल भएको छ ।

आज आयोजित कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिवर्तित जनादेशको पृष्ठभूमिमा देशको अर्थतन्त्रको भावी दिशा, चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको हो । कार्यक्रममा निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य तथा आर्थिक सुधारका आवश्यक कदमबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श भयो । विभिन्न निजी क्षेत्रका व्यवसायीहरुको सहभागितामा सम्मपन्न कार्यक्रममा नयाँ बन्दै गरेको सरकार र नयाँ सरकार र निजी क्षेत्र बिचको सहकार्यका विषयमा गहन छलफल भएको छ । साथै, निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य र आर्थिक सुधारका लागि आवश्यक नीतिगत कदमहरूबारे सरोकारवालाबीच विस्तृत छलफल भएको छ ।

कार्यक्रममा व्यवसायीलाई स्वागत गदै शिव घिमिरे परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावना सँगै मध्यपूर्वमा उत्पन्न युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरे । साथै, उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए । तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पु¥याइरहेको उनको भनाइ थियो । उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिए ।

घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई संस्थागत गर्न सके मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताए ।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उत्पादनमुखी क्षेत्रलाई प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा उनले विशेष जोड दिए ।

कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले “मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यप्रत्र प्रस्तुति गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याए । उनले प्रस्तुत कार्यपत्रमार्फत निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पुनरुत्थानका लागि आवश्यक स्पष्ट रोडम्याप समेत प्रस्ताव गरेका थिए । साथै, निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा स्थापित गर्दै सरकार–निजी क्षेत्र सहकार्यलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान दिनुपर्नेमा उनले विशेष जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक संकेत दिएको बताए । नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै उनले निजी क्षेत्र निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको स्पष्ट पारे ।

उनले सरकारद्वारा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गरे । साथै, सरकार गठनको तयारीमा रहेको दलले प्रतिबद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अगाडि बढ्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेका सुझावहरूलाई नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता समेत सरकार बनाउने दलबाट आएको उल्लेख गर्दै उनले सबै निजी क्षेत्र एकजुट भएमा विद्यमान समस्या समाधान गर्न सहज हुने बताए । निजी क्षेत्रको एउटै आवाज रहेको सन्देश दिनुपर्नेमा जोड दिँदै उनले कार्यक्रमको आयोजना गरेकोमा शिवप्रसाद घिमिरेप्रति धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व बरिस्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ हुन गइरहेको निर्वाचनको सन्दर्भमा वर्तमान आर्थिक जटिलता बीच भड्किलो खर्च गर्ने प्रवृत्तिबाट बाहिर निस्केर वास्तविक मुद्दामा केन्द्रित बहस हुनु पर्ने बताए । उनले केही पक्षहरू रमझम र अनावश्यक गतिविधिमा अल्मलिएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले निजी क्षेत्रका मूल एजेण्डालाई ओझेलमा पारिरहेको टिप्पणी गरे ।

उनले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेको राजनीतिक स्थिरता जनताले स्पष्ट बहुमतमार्फत सुनिश्चित गरेको उल्लेख गर्दै अब आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राखे । निर्वाचनलाई अनावश्यक रूपमा खर्चिलो र भड्किलो बनाउने प्रवृत्तिले निजी क्षेत्रको साखमा समेत प्रश्न उठ्ने भएकाले यसतर्फ सबैले आत्मसमिक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपालको संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा उल्लेख गरिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयनबारे स्पष्टता आवश्यक रहेको बताए । अमूर्त अवधारणाभन्दा खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री नीतिहरू अवलम्बन गर्न सरकारसँग आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले कार्यक्रममा प्रस्तुत सबै सुझावप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए । उनले सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरिएको जानकारी दिँदै ती सुझावहरू आगामी नीति निर्माण र सरकारसँगको संवादका लागि महत्वपूर्ण आधार बन्ने बताएका थिए । साथै, वर्तमान अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने यथार्थतर्फ संकेत गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
उनले नयाँ सरकारसँग सुशासन, पारदर्शिता र आर्थिक सुधारको उच्च अपेक्षा रहेको बताउँदै लगानीमैत्री वातावरण निर्माण, करको बोझ न्यूनीकरण तथा व्यवसाय सञ्चालनमा सहजीकरण अत्यावश्यक रहेको धारणा राखेका थिए । “लाइन होइन, अनलाइन” भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ हुनुपर्ने बताएका थिए ।

श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे । आगामी दिनमा निजी क्षेत्रमाथि थप जिम्मेवारी आउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै खुला बजार अर्थतन्त्रको सुदृढीकरण र आफ्ना कमजोरीहरूमा सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा उहाँले व्यक्त गरे ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार