काठमाडौं । कतार सरकारले रमदानको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारका आमिर शेख तमिम बिन हमाद अल थानीले उक्त आममाफी प्रदान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार, कतारको दोहा स्थित नेपाली दूतावासको पहल र समन्वयमा ती नेपालीहरूलाई आममाफी दिलाउन सफल भएको हो । मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले कतारी आमिरले रमदान जस्तो महत्वपूर्ण धार्मिक अवसरमा आममाफी दिएको जानकारी दिएका छन्।
यद्यपि, ती नेपालीहरू कुन कारणले जेल परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन। साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन। आममाफी पाएपछि नेपाल सरकारले कतारलाई धन्यवाद व्यक्त गरेको छ।