इरान–अमेरिका वार्ता असफल : डलर र तेलको मूल्यमा उछाल, सेयर बजार राताम्मे

काठमाडौं । अमेरिका र इरानबिचको शान्ति वार्ता निष्कर्षविहीन टुङ्गिएपछि विश्व बजारमा नयाँ हलचल पैदा भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि स्थायी सम्झौता हुने अपेक्षा गरिए पनि वार्ता असफल भएसँगै मध्यपूर्वी ऊर्जा निर्यातमा थप अवरोध पुग्ने देखिएको छ।

यसको प्रत्यक्ष असर सोमबारको सुरुवाती कारोबारमै देखियो, जहाँ अमेरिकी डलर र कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भयो भने विश्वभरका सेयर बजारमा गिरावट आएको छ। इस्लामावादमा भएको म्याराथन वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी नौसेनाले आफैँ स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरे।

यो समाचार सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ७.५ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३७ डलर पुगेको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धका कारण विश्वको दैनिक २० प्रतिशत ऊर्जा आपूर्ति हुने यो मार्ग इरानले बन्द गरेपछि तेलको मूल्य ३० प्रतिशतभन्दा बढीले बढिसकेको छ, जसले विश्वभर महँगीको त्रास फैलाएको छ।

तेलको मूल्य बढेसँगै मुद्रा बजारमा पनि ठुलो फेरबदल देखिएको छ। लगानीकर्ताहरू सुरक्षित मानिने अमेरिकी डलरतर्फ आकर्षित हुँदा युरो र अस्ट्रेलियन डलर जस्ता जोखिम संवेदनशील मुद्राहरूको मूल्य घटेको छ।  एसियाली सेयर बजारहरू गिरावटको दिशामा छन् भने एस एण्ड पी ५०० फ्युचर्स १.१ प्रतिशतले तल झरेको छ। बजार विश्लेषक फियोना सिन्कोट्टाका अनुसार वार्ताबाट पलाएको सबै उत्साह अहिले निराशामा बदलिएको छ, जसले गर्दा डलर बलियो हुने र अन्य सम्पत्तिहरू बिक्री गर्ने होड चलेको छ।

युद्ध लम्बिँदै जाँदा र महँगी बढ्ने निश्चित भएपछि विश्वका प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने आकलन गर्न थालिएको छ। यसअघि ब्याजदर घट्ने वा स्थिर रहने अपेक्षा गरिए पनि अहिले युरोपियन सेन्ट्रल बैंक र बैंक अफ इङ्गल्याण्ड ब्याजदर वृद्धितर्फ झुक्न सक्ने लगानीकर्ताहरूको बुझाइ छ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प प्रशासनले अहिले इरानमाथि सीमित सैन्य आक्रमण गर्ने विषयमा समेत छलफल गरिरहेको छ, जसले गर्दा मध्यपूर्वको ऊर्जा पूर्वाधारमा थप क्षति पुग्न सक्ने जोखिम बढेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल र ग्यासको मूल्य उच्च नै रहन सक्ने स्वीकार गरेका छन्। यसले युद्धको राजनीतिक र आर्थिक प्रभाव कति गहिरो छ भन्ने स्पष्ट पार्छ। युद्ध सुरु हुनुअघिको तुलनामा विश्वव्यापी सेयर बजार अझै २ प्रतिशत तल छ। अनिश्चितता र भविष्यका अज्ञात चुनौतीहरूका कारण बजारले अहिलेको परिस्थितिलाई सही ढङ्गले मूल्याङ्कन गर्न समेत सङ्घर्ष गरिरहेको विश्लेषकहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार