मुम्बईको जित, तिलकको शतक 

काठमाडौं । मुम्बई इन्डियन्सका तिलक वर्माले विस्फोटक शतक प्रहार गरेपछि मुम्बईले गुजरात टाइटन्समाथि ९९ रनको शानदार जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला अन्त्य गरेको छ । अहमदाबादमा सोमबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो।

२ सय रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १ सय रनमै समेटियो । मुम्बईलाई ठूलो स्कोरतर्फ लैजान तिलक वर्माले अविजित १ सय १ रन बनाए। उनले ४५ बलमा शतक पूरा गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

सुरुआती २० बलसम्म उनले एकपटक पनि बाउन्ड्री नहाने पनि अन्तिम ओभरहरूमा विस्फोटक ब्याटिङ गर्दै मात्र अन्तिम ६ ओभरमा ८२ रन जोडे । उनको यो शतक मुम्बईका लागि सबैभन्दा छिटो शतकहरूमध्ये एक हो। यसअघि सन् २००८ मा सनथ जयसूर्याले ४५ बलमै शतक बनाए । मुम्बई सुरुआतमा दबाबमा थियो। टोली ४४ रनमै ३ विकेट गुमाएर संकटमा परेको थियो। त्यही बेला नमन् धिरले महत्वपूर्ण इनिङ्स खेल्दै ३२ बलमा ४५ रन जोडे र टोलीलाई सम्हाले ।

गुजरातका बलर मोहम्मद सिराज र कागिसो रबाडाले सुरुआतमा राम्रो बलिङ गरे। सिराजले ३ ओभरमा १५ रन दिए भने रबाडाले डेनिस मालेवार, क्विन्टन डी कक र सूर्यकुमार यादवलाई आउट गर्दै मुम्बईलाई दबाबमा राखेका थिए। रबाडाले ४ ओभरमा ३ विकेट लिए । तर अन्तिम ओभरहरूमा तिलकले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै बदलिदिए। उनले प्रशिध कृष्णा र अन्य बलरमाथि लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई १ सय ९९ रनसम्म पुर्‍याए ।

जवाफमा गुजरातको सुरुआत राम्रो हुन सकेन। मुम्बईका तेज बलर जसप्रित बुमराहले पहिलो बलमै साई सुदर्शनलाई आउट गर्दै टोलीलाई सुरुआती सफलता दिलाए। त्यसपछि हार्दिक पाण्ड्याले जोस बटलरलाई एल्बीडब्ल्यू आउट गरे । मिचेल सान्टनरले एकै ओभरमा वासिङ्टन सुन्दर र ग्लेन फिलिप्सलाई आउट गरेपछि गुजरात थप दबाबमा पर्यो। त्यसपछि अश्वनी कुमारले ४ विकेट लिँदै गुजरातको इनिङ्स धराशायी बनाए। अन्त्यमा एएम गजनफरले मोहम्मद सिराज र कागिसो रबाडालाई एकै ओभरमा आउट गर्दै गुजरातलाई १ सय रनमै समेटे । रोचक कुरा के भने मुम्बईका तिलक एक्लैले बनाएको १ सय १ रन गुजरातको सम्पूर्ण टोलीको स्कोरभन्दा पनि बढी रह्यो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार