काठमाडौं । जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गरी नेपाली नागरिकलाई युक्रेन भ्रमण गर्ने योजना भए स्थगन गर्न पनि भनेको छ।
‘रुस तथा युक्रेनबिचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई यस राजदूतावासबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ, ‘साथै कुनै नेपाली नागरिक युक्रेनमा रहनुभएको भए यथाशीघ्र सुरक्षित र सकुशल नेपाल फर्कनसमेत अनुरोध गरिन्छ।’
युक्रेनमा रहेका नेपाली नागरिकलाई कुनै सहयोगको आवश्यकता परेमा नेपाली राजदूतावास, बर्लिनको निम्न लिखित मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। दूतावासका प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर: ००४९१७६२६७४१२०७।
उद्धार गर्न अत्यन्त कठिन हुने भन्दै युक्रेन प्रवेश नगर्न दूतावासले पटकपटक सूचना जारी गरे पनि विभिन्न बहानामा नेपाली आउने क्रम रोकिएको छैन। बर्लिनस्थित नेपाली दूतावासले युक्रेनसहित जर्मनी, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा हेर्छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।
ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु- रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।’
उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’
