काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि बागमती प्रदेशबाट सहभागी हुने खेलाडीको सोमबार टुंगो लागेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको बागमती प्रदेश टेबलटेनिस संघका संयोजक नदिमरत्न शाक्यले जनाएका छन् । सिंगल्समा समान ३–३ पुरुष/महिला तथा यु–१५ र यु–१९ मा समान २–२ ब्वाइज÷गल्र्स गरी जम्मा १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।
पुरुष सिंगल्समा सिन्धुपाल्चोकका सुजन गडाल, रामेछापका प्रजिल भट्टराई र ललितपुरका कुशल न्याछो तथा महिला सिंगल्समा काभ्रेकी आश्मा पहरी, ललितपुरकी आश्ना महर्जन र भक्तपुरकी निकिता कस्ती छनोट भए । यु–१५ को ब्वाइजमा ललितपुरका रिभान महर्जन र गल्र्समा ललितपुरकै काभ्या शाक्य तथा यु–१९ ब्वाइजमा ललितपुरका रिजन शाक्य र गल्र्समा ललितपुरकी इशाभी महर्जन छानिए । राष्ट्रिय प्रतियोगिता जेठ १४ देखि १७ गतेसम्म लैनचौरमै हुनेछ ।