
म्याग्दी । यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।
आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिए । उनका अनुसार शिविरमा गाईभैँसी, बाख्रा, कुखुरालगायतका लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको छ । शिविरमा नगरपालिकाका पशु चिकित्सक डा सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा किसानलाई औषधि वितरण गरेका थिए ।
ग्रामीण भेगमा पशुपालन गर्ने किसानलाई घरदैलोमा औषधोपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा किसानलाई पशुपालनका सम्बन्धमा प्राविधिक परामर्श पनि प्रदान गरिएको छ । शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधि वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायत औषधि वितरण गरिएको थियो । शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीद्वारा घरदैलो गरी पशुको स्वास्थ्योपचार, गर्भ परीक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै गाईभैँसी र बाख्रामा जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको समेत औषधोपचार गरिएको थियो ।
भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा, गाइभैँसीपालन हुँदै आएको छ । नयाँ किसान प्राविधिक ज्ञान नहुँदा पशुपन्छीको स्वास्थ्योपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपन्छीको उपचारसँगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडाध्यक्ष पदमबहादुर पुनले बताए । बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक किसानको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।












समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?