कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सुनसरी च्याम्पियन

सुनसरी । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । इटहरीमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन सोमबार सुनसरी २१ स्वर्णसहित च्याम्पियन बनेको हो । प्रतियोगितामा झापा १८ स्वर्णसहित दोस्रो बन्दा मोरङ १६ स्वर्ण जित्दै तेस्रो बनेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १४ वटै जिल्लाबाट छनोट भएर आएका कोशी प्रदेशका १ हजार ७ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषले जानकारी दिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ विधामा सञ्चालन भएको प्रतियोगिताबाट छानिएका खेलाडीलाई मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार बिदाइ गरेका थिए । कोशी प्रदेशबाट छनोट भएका खेलाडी तथा अफिसियललाई काठमाडौंमा बुधबारदेखि हुने राष्ट्रिय प्रतियोगिताका लागि बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्नेमा ढुक्क रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका ९८–९८ खेलाडी गरी कुल ६ सय ८६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । ती खेलबाट कुल ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्समा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदकका लागि खेल हुनेछ । कराँते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेलाडी प्रतिस्पर्धामा उत्रने छन् । एथलेटिक्सका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा, भलिबल राखेपको कभर्डहल तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन् ।

कराँते कीर्तिपुरस्थित कभर्डहल, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी र उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजना गरिने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार