पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक मुरी आलु खने।

‘असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ’, उनले भनिन्, ‘गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपालि आधा पनि उत्पादन होला जस्तै छैन ।’

आलुखेतीको पकेट क्षेत्र मानिने रघुगङ्गा गाउँपालिकाको मङ्गलेखानी, चौरखानी, र्‍यासीखर्क, पात्लेखर्क, ढुवाडी, ढाँडका किसान असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित भएका छन् । वैशाख र जेठमा परेको बाक्लो असिनाले आलुका बोटबिरुवा नष्ट गर्दा उत्पादनमा असर परेको किसान नरकुमारी किसानले बताइन्।

सत्ताइस परिवारको बसोबास रहेको मंगलेखानीका बासिन्दाको मुख्य आयस्रोत खालुखेती हो । माघमा रोपेको आलु जेठको अन्तिम सातादेखि खन्न सुरु भएको छ । समुन्द्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको मंग्लेखानीको चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक विधिबाट आलुखेती हुने गरेको किसान कृषक नरकुमारीले जानकारी दिए ।

गत वर्ष आलु बेचेर दुई लाखसम्म आम्दानी गरेका यहाँका किसान यस वर्ष उत्पादनसँगै आम्दानी पनि घट्नेमा चिन्तित छन् । स्वादिलो र सुक्खा हुने मंगलेको आलु बेनी, पोखरा र काठमाडौँका बजारमा खपत हुन्छ ।

पात्लेखर्कमा पनि असिनाले गर्दा आलु उत्पादनमा गिरावट आएको रघुगङ्गा-८ की वडा सदस्य प्रिती पुनले बताइन्। ‘यहाँका एक जना किसानले वार्षिक १५० मुरीसम्म आलु फलाउँछन्’, उनले भनिन्, ‘तर यसपालि असिनाले सबै किसानको बारीमा आलुको दाना लाग्नै पाएको छैन, लागेको दाना पनि साना छन् ।’

असिना पीडित किसानको गुनासो र क्षतिपूर्तिका लागि गाउँपालिकामा पहल गरेको वडा सदस्य पुनले बताए। उच्च पहाडी क्षेत्र मंगलेखानीको भूगोल र हावापानी अनुकूल भएकाले किसानले आलुलाई मुख्य बालीका रूपमा खेती गर्दै आएका छन् ।

यहाँका किसानलाई जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिकाको कृषि शाखाबाट बीउ, औजार, सिँचाइ र भण्डारगृह निर्माणमा अनुदान सहयोग हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार